कप्तान केन विलियम्सनको उत्कृष्ट दोहोरो शतकमा न्युजिल्यान्डले वेस्टइन्डिजसँगको पहिलो टेष्ट खेलमा विशाल अग्रता लिएको छ। मिल्टनमा जारी खेलको दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ४ सय ७० रनको विशाल अग्रता लिएको छ। टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले दोस्रो दिन १४५ ओभरमा ५१९–७ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४ सय १२ बलमा ३४ चौका र २ छक्का सहित २ सय ५१ रनको आफ्नो टेष्ट करिअरकै सर्वोत्कृष्ट प्रर्दशन गरे । विलियम्सन तीव्र गतिका बलर अल्जारी जोशेफको १ सय ४२ औं ओभरको पाँचौ बलमा रोस्टन चेशबाट क्याच आउट हुन पुगे।विलियम्सनले १२५।२ ओभरमा केमार रोचलाई चौका प्रहार दोहोरो शतक पूरा गरेका थिए । यो विलियम्सनको टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन पर्दछ।

तीनै दोहोरो शतक विलियम्सनले घरेलु मैदानमा प्रहार गरेका हुन् । यसअघि विलियम्सनले गतवर्ष बंगलादेशविरुद्ध २ सय रन र २०१५ मा श्रीलंकाविरुद्ध २ सय ४२ रनको अविजित दोहोरो शतकीय इनिङ खेलेका थिए। ओपनर टम लाथम १ सय ८४ बलमा १२ चौका र १ छक्का सहित ८६ रनमा केमार रोचको बलमा बोल्ड आउट भए। अर्का ओपनर विल योंग ५, रस टेलर ३८, हेनरी निकोलस ७, टम ब्लन्डेल १४ रनमा आउट भए । तल्लोक्रममा युवा अलराउन्डर काइल जामिसन ६४ बलमा ५ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे । जुन उनको टेष्टको पहिलो अर्ध शतक हो । टिम साउथी ११ रनमा अविजित रहे।

वेस्टइन्डिजका तीव्र गतिका बलर केमार रोचले ३० ओभरमा ७ मेडन राख्दै १ सय १४ रन खर्चेर ३ विकेट लिए । शनोन ग्रेबियलले २५ ओभरमा ६ मेडन सहित ८९ रन खर्चेर ३ विकेट लिए।

अल्जारी जोशेफको नाममा एक विकेट रह्यो । दोस्रो दिन पहिलो इनिङ थालेको वेस्टइन्डिजले २६ ओभरमा कुनै विकेट नगुमाउँदै ४९ रन बनाएको छ । ओपनर जोन क्याम्बेल २२ र क्रेग ब्रेथवेट २० रनमा अविजित छन् ।

प्रतिक्रिया दिनुस