नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले प्रतिगामी चलखेलविरुद्ध सशक्त कार्यक्रम लिएर सडकमा उत्रिने घोषणा गरेको छ। मोहनविक्रम सिंह तथा चित्रबहादुर केसीले नेतृत्व गरेको उक्त पार्टीको शुक्रबार सम्पन्न पोलिटव्युरोको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो। बैठकले लोकतन्त्रविरुद्ध प्रतिगामी शक्तिले अघि बढाएको चलखेल सैह्य नहुने निष्कर्ष निकाल्दै सडकबाटै प्रतिवाद गर्ने घोषणा गरेको हो। ‘आज देशमा प्रतिगामीहरूका गतिविधि बढ्दै गइरहेका छन्।

त्यसले गर्दा २०१७ पुस १ गते वा २०५९ माघ १९ गतेभन्दा पहिलेको जस्तो स्थितिको सिर्जना हुँदै गइरहेको छ भन्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘त्यसप्रकारका गतिविधिलाई हल्का रूपमा लिनु गम्भीर प्रकारको गल्ती, राजनीतिक अपरिपक्वता र अदूरदर्शिता तथा देश र जनताको लागि अत्यन्त घातक हुनेछ भन्ने हाम्रो पार्टीको ठहर छ।

यो अवस्थामा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि संघर्ष गर्नु राष्ट्रिय आवश्यकता बन्न गएको छ।’ ‘गणतन्त्र राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ’ भन्ने नाराका साथ देशव्यापी रूपमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय मसालले गरेको छ। संघर्षको त्यो कार्यक्रमलाई कोरोना भाइरसले पैदा गरेको स्थितिमाथि ध्यान दिँदै अगाडि बढाउने नीति अपनाइने मसालले बताएको छ। संघर्षको पहिलो चरणमा प्रचारात्मक कार्यक्रमअनुसार पार्टी, मोर्चा वा जनवर्गीय संगठनका तर्फबाट विभिन्नस्तरमा वक्तव्य दिने, पर्चाहरूको वितरण गर्ने वा भर्चुअल कार्यक्रमहरूको सञ्चालन गरिने जनाइएको छ।

दोस्रो चरणमा सार्वजनिक रूपमा सामाजिक दूरी कायम राख्दै सभा, जुलुस, कोणसभा आदि कार्यक्रम सञ्चालन गर्ने प्रयास गरिने जनाइएको छ। राजावादी शक्तिहरु सडकमा आउँदा पनि प्रमुख दलहरुले औपचारिकरुपमा प्रतिक्रिया दिइसकेका छैनन्।

प्रतिक्रिया दिनुस