विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक गरिन लागेको छ। नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो। दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जनाएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो । यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए ।
अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो । सगरमाथाको उचाइमा परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ ।