भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको छिमेक पहिले नीतिमा बंगलादेश महत्त्वपूर्ण स्तम्भ भएको बिहीवार बताएका छन् । दुई देशबीचको सम्बन्ध सुदृढ बनाउनु आफ्नो प्राथमिकता भएको उनको भनाइ छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग मोदीको भिडियो कन्फरेन्समा दुई देशले विविध क्षेत्रमा सहकार्य बढाउनका लागि सातवटा सहमति गरेका छन् र सीमापार रेलमार्ग पुनःस्थापना गरेका छन् ।

चिलाहाटी–हल्दीबारी रेल लिंकले भारतको असम र पश्चिम बंगाललाई बंगलादेशसँग जोड्नेछ । सन् १९६५ सम्म कोलकाताबाट सिलिगुडीसम्मको ब्रोडगेजको मेन रूट यही थियो ।

दुई नेताले संयुक्त रूपमा बंगबनधु–बापु डिजिटल प्रदर्शनीको पनि उद्घाटन गरे । बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको जन्मशताब्दीको अवसरमा एक स्मरणात्मक हुलाकछाप पनि उक्त अवसरमा सार्वजनिक गरिएको थियो । हसिनाले भारत असल मित्र भएको भनी बयान दिइन् । उनले सन् १९७१ को युद्धमा शहीद भएकाहरूलाई पनि सम्मान व्यक्त गरिन् । एजेन्सी

प्रतिक्रिया दिनुस