प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा आज बैतडी र अछाम भिड्दैछन् ।

यी दुुबैटोलीबिचको भिडन्त बिहान साढे ९ बजेदेखि कञ्चनपुरस्थित कभर्डहल मैदानमा हुने स्कोरर निरञ्जन बोहराले जानकारी दिए। बैतडी यसअघिको विजेता टोली हो भने अछाम उपविजेता टोली हो ।  यसअघिको पीएम कप छनौटको फाइनलमा पनि बैतडी र अछाम नै भिडेका थिए । जसमा बैतडी विजयी भएको थियो ।

दुुबैटोली उच्च मनोबलका साथ फाइनल जित्ने लक्ष्यमा रहेका छन् । बैतडी लगातार ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो भने अछाम २ खेल जित्दै रनरेटका आधारमा अघि रहदै फाइनल पुगेको हो । सुदूरपश्चिम प्रदेशका २ तराईका र ६ पहाडका जिल्लाका टोली सहभागी छनौटमा लगातार दुुबै टोली पहाडकै फाइनलमा पुुगेका छन् ।

पहाडका टोलीको यो प्रर्दशन निकै उत्कृष्ट रहेको नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताए। पहाडमा खेलमैदान तथा अभ्यासको अभावबाट क्रिकेट खेल्दै आएका खेलाडीको यो प्रदर्शन निकै राम्रो रहेको उनको भनाई छ ।

खेलाडीको यो प्रदर्शनले पहाडी जिल्लाका भौतिक संरचना र विभिन्न प्रतियोगिता सञ्चालन गर्न सकेमा थुुप्रै प्रतिभा जन्मिने उहाँको दाबी रहेको छ ।
उक्त छनौट प्रतियोगितामा समापन समारोहमा आज नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको उपस्थिती रहने जनाईएकोे छ ।
गत मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुनेछ ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता यही पुस ११ गतेबाट हुदैंछ । महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुस