प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको निगरानीका लागि गठन गरेको ‘छाँया सरकार’माथि पार्टीभित्रै प्रश्न उठेको छ। ‘सरकार भन्दा छाँया सरकार अझ लाचार’ भएको भन्दै नेताहरुले नेतृत्वसमक्ष छाँया सरकार हेरफेरको माग राखेका छन्। संघीय संसदको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले शुक्रबार बोलाएको संसदीय दल कार्यसमितिको बैठकमा केही सांसदहरुले छाँया सरकारकै आलोचना गरे।

‘देशमा प्रतिपक्षी पनि छ र रु’ भन्दै आम नागरिकले प्रश्न गर्न थालेको उल्लेख सांसद दिव्यमणि राजभण्डारीले छाँया सरकार हेरफेर गर्नुपर्ने बताए। उनको मागमा अन्य सांसदहरुले पनि समर्थन जनाए। बैठकपछि नेता राजभण्डारीले भने, ‘बैठकमा छाँया सरकारको कुरा उठ्यो । त्यसपछि मैले छाँया सरकारमा हुनेहरु जिम्मेवार हुनुपर्यो । काम गर्न सक्नुप¥यो । काम गर्न नसके छोड्नुप¥यो भनेको हुँ ।’

कांग्रेसले एउटा मन्त्रालय तीन जनासम्म सांसदलाई जिम्मा दिएर ६ जेठ ०७६ मा २५ सदस्यीय छाँया सरकार घोषणा गरेको थियो । तर, छाँया मन्त्रीहरुले हालसम्म के गरे, प्रगति के छ भनेर पार्टीमा समिक्षा हुन नसकेको नेता राजभण्डारीले बताए । उनको प्रश्न छ, ‘छाँया मन्त्री भएर संसदमा कम जाने, विदेश घुमेर बस्ने, अनि अरु माथि मात्रै प्रश्न उठाएर हुन्छ ?’ कांग्रेस नेता प्रकाशमान सिंहले ‘कुन कुन छाँया मन्त्रीले के के गर्नुभयो त्यो सेयर गर्नुप¥यो र आवश्यक परे जिम्मेवारी हेरफर गर्नुप¥यो ।’

बैठकमा सहभागी नेताहरुका अनुसार छाँया सरकारको काम कारबाहीमाथि प्रश्न उठेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले छाँया मन्त्रीहरुको कामको समीक्षा हुने बताएका छन् । ‘छलफल गर्दै गरौं, छाँया मन्त्रीको रिपोर्ट नै मागेर छलफल गर्न पनि सकिन्छ’ खाँडको भनाइ उद्धृत गर्दै एक नेताले भने ।सभापति शेरबहादुर देउवा छाँया सरकारको काम कारबाहीमाथि उठेको प्रश्नबारे मौन रहेको नेताहरुले बताएका छन् । ‘खाँडजीले जवाफ दिएपछि सभापति चुप रहनुभयो । यो बेला पार्टीभित्रकै कुरा गर्ने बेला होइन भन्ने उहाँको आशय रहेको मैले बुझेको छु’ ती नेताले भने । कांग्रेसद्वारा गठित छाँया सरकारमा गृह मन्त्रालय दिलेन्द्रप्रसाद बडू, अर्थ मिनेन्द्र रिजाल, रक्षा भीमसेनदास प्रधान, परराष्ट्र नारायण खड्का, ऊर्जा ज्ञानेन्द्रबहादुर खड्का, शहरी विकास उमाकान्त चौधरी, उद्योग मीन विश्वकर्मा, खेलकुद किशोर सिंह राठौर, शिक्षा गगन थापा, खानेपानी सुजाता परियार, स्वास्थ्य पार्वती डिसी चौधरी, पर्यटन मन्त्रालयको जिम्मा देवेन्द्र कँडेलले पाएका थिए ।

यसैगरी, छाँया सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षाको डिला संग्रौला, सञ्चार तथा सूचना प्रविधिमा बहादुरसिंह लामा, भूमिसुधार लक्ष्मी परियार, संघीय मामिला तथा सामान्य प्रशासन अतहर कमाल मुसलमान, कृषिको पद्मनारायण चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उमा रेग्मी, वन तथा वातावरण राजेन्द्र केसी, कानुन तथा संसदीय मामिला राधेश्याम अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा सञ्जयकुमार गौतमले पाएका थिए । उनीहरुलाई सरकारका सम्बन्धित मन्त्रालयका मन्त्रीले गरिरहेका काम कस्ता छन् भन्ने सुक्ष्म अध्ययन र विश्लेषण गरी गलत काम गरे सच्याउन खबरदारी गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुस