कैलालीको गोदावरी नगरपालिका –२ मा रहेको अत्तरिया बसपार्कमा निर्माण गरिएका टिकट काउन्टर सम्पन्न भएको १ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन्। टिकट काउन्टर सञ्चालनको मोडालिटीबारे निर्णय लिन नसक्दा निर्माण भएको लामो समय सम्म पनि बसपार्कका टिकट काउन्टर सञ्चालन आउन नसकेका हुन।
बसपार्कमा रहेका खोका छाप्रा काउन्टर हटाएर व्यवस्थित बसपार्क बनाउन १ वर्ष अगाडी १२ ओटा व्यवस्थित टिकट काउन्टर निर्माण गरिएको भए पनि उक्त काउन्टर कसले सञ्चालन गर्ने विषयमा अझै सहमति हुन सकेको छैन। गोदावरी नगरपालिका मातहत रहेको बसपार्क भित्र निर्माण गरिएका टिकट काउन्टर कैलालीका बस व्यवसायीले सञ्चालन गर्न पाउनुपर्ने दाबी गर्दै आएका छन् भने जिल्ला बाहिरका व्यवसायीहरूले भने आफूले पनि टिकट काउन्टर प्रयोग गर्न पाउनु पर्ने बताउँदै आएका छन् ।
पवनदुत यातायात प्रालीका अध्यक्ष कृष्ण देव पन्तले अत्तरिया बसपार्क सञ्चालनमा सिन्डिकेट लगाउन खोजेकाले आफूहरूले काउन्टर सञ्चालनमा अवरोध गरेको बताए। उनले क्षेत्रीय बसपार्कको अवधारण अनुसार बसपार्क निर्माण गरिएको भए पनि अहिले नगरपालिकाले निर्माण गरेका टिकट काउन्टर कैलालीबाट सञ्चालित यातायात व्यवसायीलाई मात्रै दिइनु गलत भएको बताए ।
महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले आफूहरूले लामो समय देखि अत्तरिया बसपार्कमा सेवा दिएर पनि टिकट काउन्टर राख्न नपाएपछि विरोधमा उत्रिएको बताए। उनले आफूहरूले नगरपालिकाले निर्माण गरेका काउन्टर नपाए कडा आन्दोलन गर्ने चेतावनी दिए।
प्रतिक्रिया दिनुस