प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको छ। जितको लागि १ सय ८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रन बनाए ।

गण्डकीका कुनैपनि ब्याटरले दोस्रो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमको कसिलो बलिङ सामु गण्डकी सुरुवात देखिनै दबाबमा परेको थियो । तीव्र गतिकी बलर कविता कुवँरले तेस्रो ओभरको पाँचौ बलमा ओपनर सृजना पौडललाई शून्यमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । छैटौं ओभरको पहिलो बलमा पुर्णता शाहीलाई सुनिता लुहरले २ रनमा बोल्ड आउट गर्दै दबाब बढाएकी थिइन् ।
लुहरलेनै सृष्टि पौडेललाई ८ रनमा लक्ष्मी साउँदबाट क्याच आउट गराइन् ।

१२ औं ओभरको तेस्रो बलमा कप्तान शीला रेग्मी क्षेत्रीलाई ऋतु कनोजियाले ४ रनमा बोल्ड आउट गरेपछि गण्डकीको जितको सम्भावना टाढिएको थियो । एलिसा लामिछाने र सीमा केसी ४–४ रनमा आउट भइन् । ज्योत्स्निका मरासैनी ६ र कुसुम गोदर ५ रनमा अविजित रहिन् । सुदूरपश्चिमको जितमा सुनिता लुहरले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । लक्ष्मी साउद, ऋतु कनोजिया र कविता कुवँरले १–१ विकेट लिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९.३ ओभरमा १ सय ७ रनमा अल आउट भएको थियो। सुदूरपश्चिमकी ओपनर रेवती धामीले ३६ बलमा २ चौका सहित सर्वाधिक २७ रनको योगदान दिइन् । चौथो ओभरको दोस्रो बलमा सृष्टि पौडेलले ओपनर मन्जु बोगटीलाई १० रनमा बोल्ड आउट गरेकी थिइन् । मन्जुले १४ बलमा १ चौका प्रहार गरिन् । छैटौं ओभरको तेस्रो बलमा स्पिनर एलिसा लामिछानेको बलमा ठूलो सट खेल्नेक्रममा कविता कुवँरलाई ७ रनमा सिमाना केसीबाट क्याच आउट हुन पुगेकी थिइन् ।
आठौं ओभरको अन्तिम बलमा डली भट्ट एलिसा लामिछानेको बलमा २ रनमा कट एण्ड बोल्ड आउट भएपछि सुदूरपश्चिम केहि समस्यामा परेको थियो । १४ औं ओभरको अन्तिम बलमा ज्योत्स्निका मरासैनीले रेवतीलाई विकेटकिपर सोनिया थापाबाट क्याच आउट भएपछि ठूलो योगफल टाढिएको थियो ।

अन्जली विश्वकर्माले कप्तान विन्दु रावललाई १३ रनमा बोल्ड आउट गरेकी थिइन् । रुवि पोदार पनि ५ रनमा आउट हुँदा ऋतु कनोजिया ७ रनमा अविजित रहिन् । स्पिनर एलिसा लामिछानेले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् । तीव्र गतिकी बलर सृष्टि पौडेलले ३.३ ओभरमा १६ रन खर्चिदै ३ विकेट लिइन् । ज्योत्स्निका मरासैनी, अन्जली विश्वकर्मा, कुसुम गोदर ले समान १ विकेट लिए । बुधबार पहिलो खेलमा सुदूरपश्चिम र प्रदेश नम्बर १ भिड्ने छन् । दोस्रो खेलमा बागमती र गण्डकी भिड्ने छन् ।

प्रतिक्रिया दिनुस