सुदूरपश्चिमका २४ जना भलिबल खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। भलिबलका प्रतिभावान खेलाडी छनोट कार्यक्रम अनुसार छात्रृवृत्ति दिन लागिएको हो। प्रदेशभरबाट १२ जना पुरुष र १२ जना महिला खेलाडीलाई छात्रवृत्ति दिन छनोट गरिने प्रशिक्षक जगदीश भट्टले जानकारी दिएका छन्।

उनका अनुसार छनोटमा पर्ने ती खेलाडीलाई महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइनेछ। ‘आगामी दुई वर्षभित्र राष्ट्रिय भलिबल खेलमा योगदान पु¥याउने उद्देश्य राखी यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ प्रशिक्षक भट्टले भने, ‘१८ वर्षमुनिका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउँदै छौं।’

उनका अनुसार प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई मासिक ३ हजार रुपैयाँ उपलब्ध गराइनेछ। पहिलो चरणको छनोटमा पर्ने खेलाडीलाई ६ महिनासम्म छात्रवृत्ति रकम उपलब्ध गराइनेछ। त्यसपछि उत्कृष्ट प्रर्शन गर्नेलाई निरन्तरतासँगै नयाँ खेलाडीलाई समेत कार्यक्रममा समेटिने छ।

प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई निःशुल्क रुपमा विद्यालय शिक्षा समेत उपलब्ध गराइनेछ। राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले आयोजना गरेको प्रतिभावान खेलाडी छनोट घोषणा कार्यक्रमको मंगलवार उद्घाटन गरेका हुन्।

प्रतिक्रिया दिनुस