भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आगामी सोमबार र मंगलबार खुला हुने भएको छ। नियमित रुपमा हप्ताको दुई दिन सोमबार र शुक्रबार नाका खुला हुँदै आएको भएपनि दुवै देशका स्थानीय प्रशासनहरुको समन्वयमा माघ ५ र ६ गते नाका खुला रहने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
अत्यावश्यक कामका लागि सीमामा आवतजावत गर्ने नागरिकलाई मध्यनजर गरेर नाका खुला गर्ने निर्णय भएको उनले बताए। यस्तै भारतीय पेन्सनधारी नागरिकहरुले पनि नाका खुला भएको बेला आफ्नो पेन्सन सम्बन्धि काम गर्न पाउने बताइएको छ। यस्तै उपचारका लागि भारत जाने नागरिकलाई पनि आवतजावत गर्न दिइने बताइएको छ। कोरोना भाईरसका कारण गएको चैतदेखि नाका बन्द हुँदा नाकामा आवतजावत गर्नमा रोक लगाइएको छ।
कोरोनाका कारण नाका बन्द भएकाले अहिले दुवै देशका स्थानीय प्रशासनहरुको समन्वयमा बेला बेलामा अत्यावश्यक कामका लागि नाका खोल्ने गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार र मंगलबार नाका खुला हुने भएकाले अतिआवश्यक काम परेकाहरुलाई आवतजावत गर्न आग्रह गरिएको छ।