आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ । विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप चार वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिए।

चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू भइसकेको छ । केन्द्रका अनुसार २०७८ को शैक्षिक सत्रमा कक्षा २, ३, ६ र १२ तथा २०७९ सालमा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनेछ । २०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसक्ने महानिर्देशक दाहालले जानकारी दिए। अदालतले नयाँ पाठ्यक्रम लागू गर्न कानुनी रूपमा बाटो खोलिदिएकाले समस्या नहुने र यसको कार्यान्वयनमा सरकार अगाडि बढ्ने उहाँले जानकारी दिए। कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट परेपछि झण्डै तीन महिना अन्योल देखिएको थियो । सर्वोच्च अदालतले पुस २८ गते नयाँ पाठ्यक्रम लागू गर्न सरकारलाई बाटो खोलिदिएको हो ।

केन्द्रका महानिर्देशक दाहालले एकैचोटि सबै कक्षामा पाठ्यक्रम कार्यान्वयन गर्न समस्या भएका कारण चरणबद्ध रूपमा यसलाई अगाडि बढाइएको जानकारी दिए। एकै पटक लागू गर्दा पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक प्रकाशन लगायतका काम गर्न समस्या हुने भएकाले चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको हो । व्यवस्थापकीय हिसाबले कार्यान्वयन गर्न पनि सहज हुने महानिर्देशक दाहाल बताउछन्।
कक्षा ११ का शिक्षकलाई तालिम दिइँदै

यसैबीच केन्द्रले नयाँ पाठ्यक्रम लागू भएको कक्षा ११ का विद्यार्थीलाई तालिम दिने भएको छ । तीनवटा अनिवार्य विषय अध्यापन गर्ने शिक्षकलाई तालिम दिने गरी कार्ययोजना बनाइएको छ । यसपटकबाट कक्षा ११ मा नेपाली, अङ्ग्रेजी तथा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा गरी तीन विषयलाई अनिवार्य गरेको छ । यस पटकबाट सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयका रूपमा थप गरिएको छ ।

यो विषय नेपाली माध्यममै पठनपाठन गराउने प्रावधान बनाइएको छ । साथै नेपाली समाज, सामाजिक परिवेश तथा जीवनोपयोगी शिक्षाका बारेमा पाठ्यपुस्तकमा समावेश गरिएको छ । यो अवस्थामा कक्षा ११ का शिक्षकलाई अभिमुखीकरण गर्नुपर्ने आवश्यकता महसुस गरिएको हो । पहिलो चरणमा अनिवार्य विषयका शिक्षकलाई तालिम दिएपछि ऐच्छिक विषयका शिक्षकलाई तालिम दिने योजना छ । शिक्षकलाई नयाँ पाठ्यक्रममा मूल्याङ्कन, पाठ्यक्रम संरचना लगायतका विषयमा जानकारी गराउने योजना छ । शिक्षकलाई स्थानीय तह या प्रदेश स्तरमा रहेका तालिम केन्द्रमध्ये कुन मोडलबाट तालिम सञ्चालन गर्ने भन्ने कुराको टुङ्गो लाग्न बाँकी छ । विभागले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायमै रहेको अवस्थामा केही महिनापहिले कक्षा ११ का शिक्षकलाई भर्चुअल माध्यमबाट तालिम कार्यक्रम गर्ने योजना बनाएको थियो । तर नयाँ पाठ्यक्रमका बारेमा कानुनी विवाद उठेपछि अभिमुखीकरण रोकिएको जनाएको थियो ।

प्रतिक्रिया दिनुस