विष दिएर हत्याको प्रयास गरिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनका तीव्र आलोचक नाभाल्नीलाई पाँच महिना पहिले विष दिएर हत्याको प्रयास भएको थियो। जर्मनीमा उपचार गराएर निको भएका नाभाल्नी स्वदेश फर्किए लगत्तै पक्राउ परेका हुन्। जर्मनीबाट मस्को आए लगत्तै उनलाई रुसी अधिकारीले पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ४४ वर्षका अभियन्ता नाभाल्नीलाई मस्कोको शेरेमेत्येभो विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

नाभाल्नीका हजारौँ समर्थकहरु मस्कोको अर्को विमानस्थलमा उनको स्वागतका लागि भेला भएका थिए। तर उनी सवार विमान डाइभर्ट गरेर अर्को विमानस्थलमा अवतरण गरि पक्राउ गरिएको हो। उनका समर्थकहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ। नाभाल्नीले आफूलाई विष दिएर मार्ने प्रयासमा रुसी सत्ताको हात रहेको बताउँदै आएका छन्।

तर पुटिन सत्ताले भने सो आरोप अस्वीकार गर्दै आएको छ। खोज पत्रकारहरुले संकलन गरेका प्रमाणहरुले भने नाभाल्नीको हत्या प्रयासमा सत्ताकै संलग्नता देखिएको छ। नाभाल्नी पक्राउ परेको खबर सार्वजनिक भएसँगै युरोपियन युनियन, फ्रान्स, इटालीसहितले त्यसको निन्दा गरेका छन्। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनका प्रस्तावित राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले घटनाको निन्दा गरेका छन्। नाभाल्नीलाई गएको अगस्टमा आन्तरिक उडानको क्रममा विष दिइएको थियो। त्यसपछि केही दिन रुसमै उपचार गराएका उनलाई विशेष विमान मार्फत थप उपचारका लागि जर्मनी लगिएको थियो।

प्रतिक्रिया दिनुस