कोरोना संक्रमण दर पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले चार जिल्लामा एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलाली, कञ्चनपुर, डोटी र अछामका हटस्पट मानिएका गाउँ र वडामा एन्टिजेन परीक्षण सुरु गरिएको बताए।

‘समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था आकलन गर्न यसले सघाउ पुग्छ,’ उनले भने। स्थानीय तहका प्रयोगशाला प्राविधिकलाई तालिम र किट उपलब्ध गराएर परीक्षण थालिएको उनले बताए । यसअघि कोरोना संक्रमण दर उच्च देखिए पनि अहिले घटेको उनको दाबी छ । ‘विश्वभर संक्रमण दर घटेको प्रभाव हामीमा पनि परेको हुन सक्छ तर जोखिम घटेको छैन,’ उनले भने, ‘सतर्कता र सावधानी बढाउन जरुरी छ ।’ प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले एन्टिजेन विधिबाट एक घण्टामै परीक्षण रिपोर्ट आउने र अभियान सञ्चालन गरिएका सबै क्षेत्रको संक्रमण दर थाहा पाउन १० दिन लाग्ने बताए ।

स्वास्थ्य कार्यालय प्रमुख ललित धामीले कैलालीका १३ वटै स्थानीय तहमा एन्टिजेन परीक्षण सुरु भइसकेको जानकारी दिए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले सुदूरपश्चिमका चारवटा प्रयोगशालामा दिनमा बढीमा २ सय जनासम्मको पीसीआर परीक्षण भइरहेको छ, जसमध्ये औसत १०र१५ जनामा संक्रमण देखिने गरेको छ ।

प्रतिक्रिया दिनुस