कैलालीको टीकापुर नगरपालिकाले गरेको वडा विभाजनको प्रस्ताव पेचिलो बन्दै गएको छ। नगरपालिकाको सर्वदलीय सर्वपक्षीय छलफलमा १० वडासम्म थप्न सकिने भन्दै हस्ताक्षर गरेका राजनीतिक दलका प्रतिनिधि बाहिर आएसँगै उहाँहरुका मत पनि बाझिन थालेका छन् भने वडा विभाजनको विवादले नगरपालिकाको आठौँ अधिवेशन अनिश्चित बनेको छ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भावनामा डुबेर १० वटा वडा थप्ने माग गरिएको बताए। “वडा नं १ लाई बढीमा छ वटा वडासम्म बनाउन सकिन्छ। त्यसमा सीमाङ्कनका कुरालाई गम्भीरताका साथ लिन जरुरी छ”, अधिकारीले भने, “साधन स्रोतको आधारमा वडा विभाजन हुनुपर्दछ। आफूलाई सजिलो हुने गरी भन्दा भूगोल र जनसङ्ख्याका आधारमा वडा विभाजन गरिनुपर्दछ।”त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष दयाराम सञ्ज्यालले नगरपालिकामा १० वडा थप गरी १९ वडासम्म बनाउन सकिने बताए। “जनसङ्ख्याको आधारमा वडा विभाजन गरिनुपर्दछ। वडा नं १ मात्र नभई सबै वडालाई समानान्तररूपमा मिलाई वडा विभाजन गर्दा राम्रो होला”, सञ्ज्यालले भने, “पटक९पटक वडा विभाजन गर्न पनि सकिँदैन। भोलि उपमहानगरपालिकाको परिकल्पनामा वडा विभाजन गरिनुपर्दछ।” रासस

प्रतिक्रिया दिनुस