सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश–२ लाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सान्त्वना जित निकालेको हो । टियु क्रिकेट मैदानमा प्रदेश–२ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो ।

जितसंगै समूह ’बी’ सुदूरपश्चिमले ४ खेलमा २ अंक जोड्यो । सुदूरपश्चिम प्रतियोगिताबाट यस अघि नै बाहिरिसकेको छ । यस हारसंगै प्रदेश–२ पनि प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै बागमती प्रदेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमान्चक बराबरी खेलेको बागमती सेमिफाइनलमा पुगेको हो ।

बागमतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । लुम्बिनीसँगको खेल बराबरी भएसंगै समूह ’बी’ एपीएफले ४ खेलमा ७ अंक जोड्यो । एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा समेत पुग्न सफल भयो ।

प्रतिक्रिया दिनुस