बाजुरामा उत्सव खाने तेल विक्री वितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दे उत्सव खाने तेल जिल्लामा सञ्चालनमा ल्याएका व्यापारीलाई विक्री वितरणमा रोक लगाएको हो।
राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्रान्डको खाने तोरीको तेलको सम्बन्धमा गुनासो तथा उजुरी पछि उक्त तेल बिक्रीमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए।
उक्त प्रालिले उत्पादन गरेको उत्सव ब्रान्डको खाने तोरीको तेलको गुणस्तर सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएको र सोको निरीक्षणको क्रममा समेत कैफियत महसुस भएकोले गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीलाई पत्र पठाइएको उनले जानकारी दिए।
उनले उक्त उपभोग नगर्न सबैमा अनुरोध समेत गरेका छन्। लुकिछिपी विक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ।
प्रतिक्रिया दिनुस