कञ्चनपुरमा विपन्न वर्गका ५० जनालाई न्यानो कपडा वितरण गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति कञ्चनपुरको आयोजनामा बुधबार भीमदत्त नगरपालिका–९ स्थित खल्ला तथा ब्रह्मदेव क्षेत्रका ५० जना विपन्न परिवारका सदस्यलाई न्यानो कपडा कम्मल वितरण गरिएको हो।
भीमदत्तनगर पालिकाको खल्ला र ब्रह्मदेव क्षेत्रमा बसोबास गर्ने २२ जना लोपोन्मुख राउटे समुदायका सदस्यहरु र ७०वर्ष उमेर नाघेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय एकल महिला रहेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए। चिसोका कारण विपन्न असहाय व्यक्तिहरुको जीवन कष्टकर नहोस् भन्ने उद्देश्यले न्यानो कपडा कम्मल वितरण गरिएको प्रमख जिल्ला अधिकारी महतोले बताए। नेपाल सरकारको नीति अनुसार कम्मल वितरण गर्ने कार्यक्रम रहेको र सोही अनुरुप उक्त कार्यक्रम भएको प्रमुख जिल्ला अधिकारी महतोको भनाई छ।
न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक उमा चतुरवेदी, सशस्त्र प्रहरी उपरिक्षक वीरेन्द्र ऐर, सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी लगायत स्थानीय समाजसेवीको सहभागिता रहेको थियो।