काठमाडौं उपत्यकाबाहिरबाट पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न सहमत जनाएका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यकाबाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र उपत्यकाबाहिरका तोकिएका स्थानबाट समेत सुन वितरणको व्यवस्था मिलाउन आग्रह गरे। त्यसक्रममा बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाललगायत संघका पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरू सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताए। नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यकाबाहिरबाट पनि सुन वितरणको वयवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपी सो विषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

जसका कारण उपत्यकाबाहिरका व्यवसायी सुन खरिदका लागि काठमाडौंमा आउनुपर्ने झन्झट कायम छ । व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकहरूबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यालाई सल्टाएर सहजरुपमा विधिसम्मत तरिकाले आ–आफ्नो जिम्मेवारी पूरा गर्न आफूहरु तयार रहेको संघका पदाधिकारीहरुले बताए । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार बैंकर्स संघको सिफारिसमा बैंकहरूले विदेशबाट कच्चा सुनको आयात गरी महासंघको सिफासिरमा व्यवसायीलाई सुन उपलब्ध गराउँदै आएको छ । मोफसलका जिल्लाबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौंको भन्दा बढी लिने, मोफसलका जिल्लामा पनि सुनको स्टक राख्ने, बैंकपिच्छे फरक फरक हुँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरिद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरी पर्याप्त मात्रामा आपूर्ती व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्ने लगायत विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुस