देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेसनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । सबस्टेसन जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनसमेत हो ।

सो सबस्टेसन हाल सञ्चालनमा रहेका सबस्टेसनमध्ये सबैभन्दा ठूलो हो । सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ । प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सो सबस्टेसन नेपालकोे उपलब्ध संरचनामध्येको सबैभन्दा ठूलो हो । मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बनेको छ ।

सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ । साथै, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेसनको भोलि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुस