शहीद दशरथचन्दको जन्मघरलाई पाहुना घर बनाउने काम भईरहेको छ। बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोट स्थित शहीद चन्दको जन्मघरलाई पाहुना घर बनाउने काम भईरहेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। प्रतिष्ठनको अगुवाईमा शहीद चन्दको जन्मघरलाई पाहुना घर बनाउन लागिएको उनले बताए। चन्दको जन्मघरलाई जिर्णोद्वार गरी पाहुनाघर निर्माणको काम भईरहेको उनले जानकारी दिए।

४ कोठे घरलाई मर्मत गरिसकिएको छ उनले भने,–‘शहीद दशरथचन्दको जिवनीका बारेमा जानकारी लिन चाहनेहरुका लागि त्यतै बसोबासको व्यवस्था गर्दैछौं। यसले शहीदको जिवनीका बारेमा सबैलाई ज्ञान दिन सजिलो हुने हाम्रो विश्वास छ।’ शहीद दशरथचन्दको जन्मघरलाई उहाँको जीवनको श्रोतको रुपमा विकसित गर्ने उद्देश्य रहेको स्मृति प्रतिष्ठानले जनाएको छ। शहीद चन्दको नाममा खोलिएको प्रतिष्ठानले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ। दशरथ चन्दको जन्म वि. सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो ।

राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो। त्यसअघि उहाँले नेपालगंज, भारतको अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा शिक्षा ग्रहण गर्नुभएको थियो। तत्कालीन राणा सरकारले वि. सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो। शहीद दशरथचन्दका बारेमा जानकारी गराउन प्रतिष्ठानले काम गरिरहेको भएपनि सरकारी स्तरबाट खासै सहयोग हुन नसकेको प्रतिष्ठानका अध्यक्ष चन्दले बताए।

प्रतिक्रिया दिनुस