जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ। सरकारले आगामी बैशाख महिनामा दुई चरणमा निर्वाचन घोषणा गरेसँगै कञ्चनपुर निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन लागेको जनाएको छ।

तीन दिनदेखि आगामी बुधबारसम्म नौ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ्चालन गरेको निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले जानकारी दिए। उनले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ मा उजुरी दिन सकिने व्यवस्थासमेत गरिएको बताए। तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई लाख ७७ हजार ५९ मतदाता रहेका छन्। एक सय ३२ मतदानस्थल रहेको छ भने, ३ सय ३० मतदान केन्द्र रहेका छन्। प्रमुख जोशीका अनुसार यहाँका नौवटै पालिकाको केन्द्रमा सहायक नाम दर्ता अधिकारी खटाएर अध्याधिक थालिएको छ।

प्रतिक्रिया दिनुस