नेपालमा ‘मिस्टर एन्ड मिस थारू २०२१’ आयोजना गरिने भएको छ। तेस्रो संस्करणका रुपमा यही माघ २४ गतेदेखि मुलुकका विभिन्न जिल्लामा छनोट प्रक्रिया शुरु हुने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।

वाइएसी इभेन्टसको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। आयोजक संस्थाका निर्देशक सुरेश चौधरीले अडिशनको पहिलो दिन यही माघ २४ गते चितवन, मोरङ, बाँकेमा अडिशन हुने जानकारी दिए। यस्तै माघ २८ गते सुनसरीको झुम्का, सिरहाको लहान, पर्साको वीरगञ्ज र कैलालीको धनगढीमा अडिशन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

यस्तै फागुन १ गते काठमाडौँ, रुपन्देही र दाङमा अडिशन हुनेछ। छनोटमा उत्तीर्ण भएका प्रतिस्पर्धीलाई काठमाडौँमा प्रशिक्षण दिइने र त्यसपछि आगामी चैत ७ गते अन्तिम प्रतिस्पर्धा हुने आयोजक प्रतिनिधि रुपेश चौधरीले जानकारी दिए। प्रतियोगिताको फाइनल चितवनको सौराहामा हुने जनाइएको छ।

प्रतिक्रिया दिनुस