छेउमै महाकाली नदी बगे पनि दाुर्चुलाको लेकम गाउँपालिका–३ रतौडा गाउँमा खानेपानीको हाहाकार छ। रतौडा गाउँका विद्यार्थी बालबालिकाहरु र महिला पानी भर्न दैनिक गाउँबाट झण्डै पाँच सय मिटर तल महाकाली नदी ओर्लिनुपर्ने बाध्यता छ । गाउँमा खानेपानीको मुहान छैन्।
स्थानीय लीलाधर पन्तले भन्नुभयो, पल्लो गाउँबाट पाइपमार्फत ल्याएको पानी कहिले–काँही त आउने गथ्र्यो, तर सडक निर्माणको क्रममा उक्त खानेपानी लाइन अवरुद्ध भएपछि पिउनका लागि समेत महाकालीबाट पानी बोक्नुपरेको छ। पानी बोक्दा बोक्दै कम्बर र काँधमा निलडाम बसेको स्थानीय महिलाहरुले दुःखेसो पोखेका छन् ।
विहान, बेलुकी पानी बोक्नुपर्ने भएकोले आफूहरुको पढाइ छुट्ने गरेको गुरुकुल मावि दशरथचन्द नगरपालिका–६ शेरामा कक्षा १० मा अद्ययनरत छात्रा मनीषा टमटाले गुनासो गरीन्। खानेपानी नहुँदा वर्षौंदेखि महाकालीको धमिलो पानी बोकेर खानुपरेको अर्का स्थानीय रोशनी पन्तले बताए।
खानेपानी र गाउँमा सिँचाइ नहुँदा कृषि पेशा गरी खान मुश्किल भएको उनको गुनासो छ। गाउँमा तराईको जस्तै सम्म परेको खेत छ। खेतको छेउबाटै सुसाउँदै महाकाली नदी बग्छ तर सिँचाईको अभावमा रतौडाका बासिन्दाले आकाशेपानीको भरमा खेतीपाती लगाउनुपर्ने बाध्यता छ। बर्खायाममा महाकाली नदीमा माटो र बालुवा मिश्रित धमिलो पानी आउने गरेको छ।
नदीको फोहोर पानी पिउनुपर्ने बाध्यतासंगै मनमा बाढीको त्रास पनि हुने गरेको स्थानीय राधा पन्तले बताइन्। गाउँमा तटबन्ध र सिँचाइ सुविधा भए अन्न फष्टाउने सम्भावना छ। अहिले अन्न किनेर खानुपर्ने अवस्था रहेकोमा सिँचाइ सुविधा भए बेच्नका लागि समेत अन्न उत्पादन गर्न सकिने खेत रहेको स्थानीय रघु टमटाले बताए। हामी यतै जन्मियौँ, ५५ वर्षीय विशनसिंह पन्तले भने, अहिले बूढेसकाल पनि लागि सक्यो तर यो गाउँमा सिँचाइ र खानेपानीको सुविधा हुनसकेको छैन।