बैतडीमा मनमोहक झराना फेला परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–१०, बाराकोट गाउँमा जाने खानेपानीको मुहानमाथि दशरथचन्द नगरपालिका–९, माण खोलामा झराना फेला परेको हो । झरनाबारे प्रचार प्रसार हुनसके पर्यटकीय गन्तव्य बन्न सक्ने सरोकारवालाले बताएका छन् । दशरथचन्द नगरपालिका–९, माण खोलाबाट दशरथचन्द नगरपालिका–१०, बाराकोटका पाँच सय घरधुरीमा खानेपानी आउने गरेको वडाध्यक्ष गगनसिंह विष्टले बताए।
झरानाबारे प्रचारप्रसार हुनसके पर्यटकीय गन्तव्य बन्न सक्ने वडाध्यक्ष विष्टले बताए। उनले भने, “यो पवित्र झरना दशरथचन्द नगरपालिका–९, ग्वाल्लेक संरक्षित वनबाट बगेर आउने भएकाले यसको उचित संरक्षण पनि गर्नुपर्छ । ” बैतडी सदरमुकामको दरशथचन्द नगरपालिका–८, डुङराबाट ठाँटा हुँदै रौतगाडा पुगेपछि झरना हेर्न सकिन्छ। झरानामुनिबाट दशरथचन्द नगरपालिका–१०, बारोकोट जाने खानेपानीको मुहान भएकाले वडा नम्बर १० बाट पनि एक घण्टा पैदल हिँडेर झराना नजिक पुग्न सकिने वडा अध्यक्ष गगन विष्टले बताए।
झरनाको बारेमा पहिलो पटक सुनेको बताउँदै सुदूरपश्चिम पर्यटन पुनरुत्थान समितिका सदस्य एवं बैतडीका होटल व्यवसायी वासुदेव भट्टले झरानाको प्रचारप्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन सबैले पहल चाल्नुपर्नेमा जोड दिए। झरनाको बारेमा आफूले पनि पहिलो पटक सुनेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए। उनले झरनासम्म पुग्ने बाटो निर्माणका लागि नगरपालिकाले पनि पहल गर्ने बताए। गोरखापत्रबाट