दार्चुलाको दुई स्थानमा नेपाली सेनाको बेस क्याम्प स्थापना गरिने भएको छ। जिल्लाको सुनसेरा र दुम्लिङमा क्याम्प स्थापना गरीने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको हो। प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार नेपाली सेनाका कर्णेल रमेश गुरुङको नेतृत्वमा सीमा क्षेत्रमा दुई वटा बेस क्याम्प स्थापना गरिने भएको हो।

दुई क्याम्पमा गरि करिब एक सय ५० जनाको फौजरहने उनले बताए। फागुन पहिलो साता सुनसेरा र तेस्रो साता दुम्लिङमा क्याम्प स्थापना गरिने कर्णेल रमेश गुरुङले जानकारी दिए। वैशाख २४ गतेको मन्त्रिपरिषद्ले सेनालाई दार्चुलादेखि तिंकरसम्मको सडक निर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार नै सेनाले त्यहाँ बेस क्याम्प स्थपना गर्न लागेको हो।

उक्त क्षेत्रमा करिब ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सेनाले उक्त सडकको डीपीआर (विस्तृत परियोजना विवरण) को काम भइरहेको पनि कर्णेल गुरुङले जानकारी दिए। सदरमुकाम खलंगादेखि तिंकरसम्म एक सय ३० किलोमिटर रहेकोमा ४० किलोमिटर सडक अन्य ठेक्का प्रक्रियाबाट निर्माण भइरहेको छ। सुनसेराबाट तीन किलोमिटर अघिको बाटो यसअघि नै सडक विभागले खनिसकेको छ। बाँकी ८७ किलोमिटर सडक सेनाले बनाउने भएको हो।

प्रतिक्रिया दिनुस