भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावत सुरु भएको छ। नेपाल सरकारले यही माघ १५ गते झुलाघाट सहित सुदूरपश्चिमका भारतसंग जोडिएका नाका खोल्ने निर्णय गरेसंगै आज शनिबारदेखि नाकामा आवतजावत शुरु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए।
भारतीय पक्षबाट पनि नाका सुचारु गर्ने सहमति भएपछि नाकामा आवतजावत गर्न सुचारु भएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकारले नाका खोल्ने बिषयमा गरेको निर्णय सहितको जानकारी भारतीय स्थानीय प्रशासनलाई गराएको र त्यसपछि भारतीय पक्षबाट पनि सहमति आईसकेकाले नाकामा आवतजावत शुरु भएको प्रशासकीय अधिकृत जोशीले जानकारी दिए। कोरोना भाईरसको जोखिम कायमै रहेकाले नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्नेमा उनले जोड दिए।
यसैबीच गएको चैतदेखि बन्द रहेको नाका खुलेपछि व्यापारीहरु पनि खुसी भएका छन्। दुवै देशका सीमावर्ती बजारका व्यवसायी नाका बन्द हुँदा मारमा परेका थिए। नाका खुलेपछि अब बजार व्यवसाय सञ्चालन हुन सक्ने आस पलाएको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले बताए।