भूवन भट्ट, माघ २५–बैतडीमा आफ्नै छोरीको हत्या गर्ने धनसिंह महरा अझै फरार छन्। जिल्लाको पुर्चाैंडी नगरपालिका –१० महरा गाउँका धनसिंहले शनिवार दिउसो आफ्नै विवाहित २० वर्षीया छोरी मेलमति महरा धामीमाथी भरुवा बन्दुक चलाउँदा उनको घटना स्थलमै मृत्यु भयो। गोली प्रहार गरी हत्या गरेका महरा जङ्गलतिर भागेका र अझै पनि फरार रहेका बैतडी प्रहरीले जनाएको छ।

के हो घटना ?

दुइटा विवाह गरेका धनसिंह महराको घरमा सधैँ कलह भइरहन्थ्यो। छोरी मेलमति विगत डेढ महिना देखी माइतमै बस्दै आइरहेकी थिइन्। शुक्रवार धनसिंहकी कान्छी श्रीमती र बुहारीले धनसिंह विरुद्ध प्रहरी चौकी पुरघाटमा उजुरी गरे। घरमा सधैँ भइरहने झगडाको उजुरीलाई लिएर शनिवार बिहान पुरघाट प्रहरी चौकीको टोली धनशिहको घरमा पुग्यो। शनिवार बिहान धनसिहलाइ सम्झाइ बुझाइ गरी प्रहरीको टोली फर्कियो । दुई श्रीमतीका पति धनसिंह पछिल्लो समय यता कान्छी श्रीमती सँगको विवाद थिए।

प्रहरी फर्किएको केही छिनमै महराले उजुरी गरेको भन्ने रिसमा श्रीमतीमाथि आक्रमण गर्न खोजे। सोही आक्रमणमा छोरी परिन्। गोली छोरीको छातीमा लाग्यो उनी ढलिन। उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पुरघाट प्रहरी चौकीका असई नरसिंह बडालले धामीको घटनास्थलमै मृत्यु भएपछि थप अनुसन्धान भइरहेको बताए। उनले भने,–‘शनिवार महराको घरमा पुग्दा विवाद साम्य हुने नदेखिएपछि प्रहरी चौकीमा लग्न खोजेका थियौ, धनसिंहले आइन्दा घरमा झैँ–झगडा नगर्ने मौखिक सहमति र जेठी श्रीमतीको उपचार गर्नै सहमति गरेपछि हामीहरू फर्कियौ।’

धनसिंहले जेठी श्रीमतीमाथि कुटपिट गरेपछि उनको शरीरमा नीलडाम र चोट रहेको प्रहरीले जनाएको छ। ‘दिउँसो छोरीमाथि गोली चलाएको खबर पाएपछि फेरी घटना स्थलमा आइपुगेका छौ।’ उनले भने।

इलाका प्रहरी कार्यालय पाटन बैतडीको प्रहरी टोली थप अनुसन्धानका लागी घटना स्थलमा आइरहेको उनले बताए। फरार धनसिंहको खोजी भइरहेको प्रहरीले जनाएको छ। महराले चलाएको भरुवा बन्दुक पनि अबैध रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस