सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गर्ने भएका छन्। चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मध्यान्ह १२ बजे प्रज्ञा भवनमा मोर्चाबन्दी हुन लागेको हो ।

यी दलले केही समयअघि एक विज्ञप्ती जारी गर्दै ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको’ जनाएका थिए।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ। प्रहरीले पक्राउ गर्न सक्ने भएकाले विप्लव वा उनका पार्टीका कुनै नेता कार्यक्रममा उपस्थित नहुने बताइएको छ। यद्यपि विप्लवले आफ्नो सन्देश भने पठाउनेछन्। विप्लवको सन्देश लिएर बुद्धिजीवी गुणराज लोहनी कार्यक्रममा उपस्थित हुनेछन्। उनले विप्लवको सन्देश पढेर सुनाउने बताइएको छ। विदेशी शक्तिको आड, भरोसा र इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको यी दलले आरोप लगाउँदै आएका छन्।

प्रतिक्रिया दिनुस