कञ्चनपुरको गड्डाचौकी नाका भएर आवात–जावतमा सहजता गरीन व्यवसायीले माग गरेका छन्। बिहीबार व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमा नाकामा आवत जावतमा समस्या भइरहेको भन्दै पूर्ण रूपमा सहजता गरिनुपर्ने माग राखेका हुन्। गत वर्ष कोरोना महामारी रोकथामका लागि सीमा नाका बन्द गरिएका थिए। तर सरकारले माघ ११ गते गड्डाचौकी सहितका नाका खोल्ने निर्णय गरेपछि अहिलेसम्म सो नाका नियमित रूपमा सहज नभएको व्यवसायीहरूले गुनासो गरे।
अहिले नाका आंशिक सर्त सहित सञ्चालन भए पनि अझैसम्म पूर्ण रूपमा सञ्चालनमा आएको छैन। नाका बन्दका कारण चोरी तस्करी बढेको र निश्चित केही व्यवसायीले सेटिङ्गमा समान ल्याउने परम्पराबाट अन्य व्यवसायी मारमा परेको भन्दै नाका सहज रूपमा खुलाउनुपर्नेमा जोड दिएका छन्। होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले गड्डाचौकी नाका सहज सञ्चालन हुन नसक्दा महेन्द्रनगर सहित सीमावर्ती क्षेत्रका होटेल व्यवसायी क्षेत्र चौपट भएको बताए। नागरिक समाज कञ्चनपुरका सचिव कोमल निरञ्जन भाटले दुवै देशका नागरिकबिच सामाजिक आर्थिक एव सांस्कृतिक सम्बन्ध रहेकाले नाका सहज रूपमा सञ्चालन हुनुपर्ने माग राखे।
महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर दत्त पन्तले गृह मन्त्रालयले नाका खोल्ने निर्णय गरे पनि स्थानीय प्रशासनबाट सहज नहुँदा सीमा क्षेत्रमा सास्ती खेप्नु परेको बताए। नाका सहज रूपमा सञ्चालन नहुँदा यात्रु र यातायात व्यवसायी मारमा परेको उनले बताए। नमस्ते शुक्लाफाँटा यातायात प्रालिका अध्यक्ष सिद्ध राज बोहराले लकडाउनको कारण देखाए केही निश्चित व्यवसायी आउजाउ गरे पनि आम रूपमा सहज नहुँदा मारमा परेको बताए। पवनदुत यातायात व्यवसायी प्रालिका अध्यक्ष निरञ्जन व्यवसायीले भन्सार नाकाका सवारी साधन ल्याएर थन्क्याउनुपर्ने बाध्यता आएको बताए।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंग बहादुर मल्लले केन्द्रीय सरकारले नाका खुलेको घोषणा गरे पनि गड्डाचौकी नाका सहज नभएको बताए। महाकाली नदीमा पुल निर्माण कार्यले नेपाल भारत जोड्ने कार्य अघि बढिरहेका बेला गड्डाचौकी नाका नखुल्न दुखद भएको उनले बताए। अध्यक्ष मल्लले नाका नखुल्दा व्यवसायी मारमा परेको बताए।
प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले केही निश्चित मापदण्ड पुरा गरे पनि नाकामा आउजाउ भइरहेको बताए। विगत जस्तो नेपालीका लागि भारत जानुपर्ने बाध्यता नरहेको बताउँदै उनले नेपालका लागि निर्बाध आउजाउ भइरहेको बताए। बनबासा नाका बिहान ६देखि १०बजेसम्म खुला गरिएको छ, भने गौरीफन्टामा दिनभर रहेको बताए। सामान आयात निर्यात भइरहेको महतोले बताए।
प्रतिक्रिया दिनुस