नेपाली भूमीमा छिरेर अवैध रुपमा बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ। पर्साको जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलामा बालुवा उत्खनन गरिरहेका बालुवा तस्कर र सशस्त्र प्रहरीबीच शुक्रबार बिहान झडप भएको हो । झडपमा तीन सशस्त्र प्रहरी घाइते भएका छन्।
घाइते भएका २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादवको नारायणी अस्पतालमा उपचार भइरहेको छ भने सुमन वस्तिको सेढवास्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ । झडपमा आयुषको कन्चट फुटेको छ भने नरेशको देब्रे हात भाँच्चिएको छ । सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतीय बालुवा तस्करसहित गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर समेत भारतीयले लिएर गएको बताइएको छ। ओरिया खोलाको नेपाली भूमि भए पनि भारतीय पक्षले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको छ।