कैलालीमा बाघको आक्रमण बाट एकजना घाइते भएका छन्। जिल्लाको कैलारी गाउँपालिका–८ स्थित दुधियाको वनमा बाघको आक्रमणमा परी आज विहान करिब ७ बजेतिर दुर्गा चौधरी घाइते भएका हुन्। सडकमा हिड्दै गर्दा गरेका उनलाई बाघले झम्टेर वनभित्र लगेको थियो। स्थानीयका अनुसार यात्रु बोकेर बनकन्द्रीतर्फ जाँदै गरेका अटो चालक र त्यसमा बसेका यात्रुले बाघले मान्छेलाई झम्टेको देखेपछि दुधियावासीलाई बोलाएका थिए।

गाउँवासी पुग्दा घाइते चौधरीकै छेउमा बाघ बसेको थियो । बाघलाई धपाएर चौधरीको ज्यान जोगाएको जनाइएको छ। बाघले पछाडिबाट चौधरीको पिठ्यु र टाउकोमा पञ्जा मारेको भीष्म चौधरीले जानकारी दिए। दुधियाबाट बनकन्द्रीतर्फ जाने बाटोमा पाँच मिनेट जति जङ्गल क्षेत्र पर्दछ। बाघको आक्रमणमा परि गम्भीर चौधरीको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघलाई नियन्त्रण गर्ने वा के गर्ने भन्नेबारे माथिल्लो निकायमा छलफल भइरहेको बताए।

प्रतिक्रिया दिनुस