पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध माथिल्लो सदन सिनेटमा चलिरहेको महाभियोगसम्बन्धी सुनुवाइका क्रममा उनका वकिलहरूले डेमोक्र्याटिक दलले ट्रम्पविरुद्ध बदलाको अभियान चलाएको आरोप लगाएका छन् । सिनेटमा महाभियोग लगाउनु पर्ने कारणहरू प्रस्तुत गर्ने क्रममा डेमोक्र्याटिक दलका नेताहरूले यो साता ज्यानुअरी ६ मा भएको क्यापिटल भवन हमलाका कैयन् भिडिओ फुटेज समेत प्रदर्शन गरेका थिए ।

सुनुवाइमा आफैँ बयान दिन अनुपस्थित भएका ट्रम्पका वकिलहरूले शुक्रवार डेमोक्र्याटिक दलका तर्कहरूको प्रतिवाद गर्न केही घण्टामात्र लिएका थिए । ट्रम्पले ती घातक हमला गर्न समर्थकहरूलाई उक्साएको आरोपलाई खण्डन गर्दै वकिलहरूले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकी संविधानले रक्षा गर्ने जिकिर गरे । साथै उनीमाथि लगाइएका आरोपहरू ‘भयानक झुट’ भएको समेत वकिलहरूले बताएका थिए । वकिल माइकल भान डेर भिनले समग्र महाभियोग सुनुवाइलाई नै डेमोक्र्याटहरूले थालेको राजनीतिक पूर्वाग्रहप्रेरित कारबाहीको संज्ञा दिए । ‘राष्ट्रपतिले कुनै हिसाबमा हिंसात्मक व्यवहार चाहेको वा उक्साएको भन्ने दाबी नै अनर्गल र भयानक झुट हो । क्यापिटल भवनमा अनधिकृत प्रवेश शुरु हुने बित्तिकै राष्ट्रपतिले ट्विटरमार्फत् दिएका दुई सन्देशमा ९समर्थकहरूलाई० शान्तिपूर्ण रहनु अनि हामी कानुनव्यवस्था पक्षधर दल भएका हिंसा नगर्नु भनेका थिए,’ वकिलले बताए ।

यसअघि महाभियोग पारित गर्नुपर्ने पक्षमा रहेका डेमोक्र्याट दलका नेताहरूले ट्रम्पलाई जबाफदेही नबनाइए उस्तै घटना फेरि दोहोरिन सक्ने चेतावनी दिएका थिए । तल्लो सदन प्रतिनिधिसभाले यिनै आरोपमा ट्रम्पमाथि महाभियोग लगाइसकेको छ । तर महाभियोग पारित गर्न सिनेटको पनि समर्थन चाहिन्छ । महाभियोग पारित गर्न सिनेटमा दुई तिहाइको बहुमत आवश्यक पर्छ जबकी डेमोक्र्याटहरूसँग केवल सामान्य बहुमत मात्र उपलब्ध छ । अर्थात् १००(सदस्यीय सिनेटमा डेमोक्र्याटहरूसँग ५० सदस्य छन् अनि महाभियोग पारित गर्न ट्रम्पको दल रिपब्लिकनका कम्तीमा १७ सिनेटरहरूले त्यसमा साथ दिनु पर्नेछ ।

महाभियोगको सुनुवाइ संवैधानिक छ कि छैन भनेर यसै साता भएको मतदानमा केवल आधा दर्जन रिपब्लिकन सिनेटरहरूले समर्थन जनाएपछि सुनुवाइ अघि बढेको थियो । त्यसैले महाभियोग पारित गर्न पर्याप्त रिपब्लिकन सिनेटरहरूको साथ रहने स्थिति देखिएको छैन । यदि महाभियोग पारित भए ट्रम्पले आइन्दा चुनाव उठ्न पाउने छैनन् । यसअघि अभियोजनकर्ताहरूले अमेरिकी सिनेटमा ट्रम्पविरुद्ध दोस्रो महाभियोगसम्बन्धी सुनुवाइमा आफ्नो तर्फबाट आधारहरू प्रस्तुत गर्ने क्रम सकाएका थिए । शनिवार उक्त महाभियोग प्रस्तावमाथि मतदान हुने ठानिएको छ । बीबीसी

प्रतिक्रिया दिनुस