नगर विकास कोषले यस वर्ष भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनौट गरेको छ। नगर विकास समितिले बिहीबार कोषको साझेदारीमा सञ्चालित योजना कार्यान्वयनमा कञ्चनपुरको भीमदत्तनगरपालिकालाई यस वर्षको उत्कृष्ट नगरपालिकामा छनौट गरेको हो।
कोषको ३२ आंंै वार्षिकोत्सव अवसरमा नगद पुरस्कार सहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ। नगर विकास कोषबाट नगरपालिकाले एक लाख नगद पुरस्कार समेत पाउने भएको हो।
भीमदत्तका मेयर सुरेन्द्र विष्टले नगर विकास कोष, नगर बासिन्दा सहितको सबैको साथ र सहयोगबाट पुरस्कार पाउने अवस्थासम्म पुगिएको बताए।
मेयर विष्टले नगर विकास कोषसित सहकार्य र साझेदारीलाई आगामी दिनमा पनि निरन्तरता दिएर जाने बताए । नगर विकास कोषले साझेदारी गरिएका योजनाका आधारमा बर्सेनी उत्कृष्ट नगपालिका छनौट गरी पुरस्कार प्रदान गर्दै आएको छ। त्यसका लागि कोषले योजना कार्यान्वयन र सम्पादनलाई आधारमा बनाउँदै आएको छ।
भीमदत्तमा कोषको साझेदारीमा आधुनिक बसपार्क निर्माण गरिएको छ। भीमदत्त नगरपालिकामा अहिलेसम्मकै ठुलो लगानीको तिलाचौर खानेपानी योजनामा पनि कोषसित साझेदारी गरिएको छ।
तिलाचौर खानेपानी योजना ३२ करोडको छ। भाँसीस्थित आदर्श खानेपानी योजनामा पनि कोषसित साझेदारीका लागि सम्झौता गरिएको छ।सब्जीमण्डीमा कञ्चन निर्माणका लागि कोषसित साझेदारी प्रक्रिया अघि बढेको छ।
प्रतिक्रिया दिनुस