कञ्चनपुरमा आधुनिक ह्याचरी उद्योग संचालनमा आएको छ। जिल्लाको भीमदत्त नगरपालिका – १५ गोबरैयामा आधुनिक ह्याचरी उद्योग संचालनमा आएको हो ।

यसअघि कञ्चनपुरमा ह्याचरी उद्योग नहुँदा यहाँका कुखुरा पालक किसान व्यवसायीले चितवन लगायतका अन्य जिल्लाबाट खरिद गर्नुपर्ने बाध्यता थियो। स्थानीय स्तरमै ह्याचरी उद्योगबाट कुखुराका चल्ला उत्पादन भएपछि कुखुरा पालक किसानलाई सुविधा भएको छ। शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपालका प्रबन्ध निर्देशन कृष्ण विष्टले दुई वर्षअघि स्थापना भएको फर्मले अब कुखुराका चल्ला उत्पादनका लागि मेसिन ल्याएको बताए। उनका अनुसार १२ हजार क्षमता भएको मेसिनमा ७ हजार ५सय चल्ला उत्पादन गरिनेछ। चल्ला उत्पादन गर्ने इन्कुभेटर मेसिन आइसकेकाले अब मेसिन मार्फत चल्ला उत्पादन गरिने प्रबन्ध निर्देशक विष्टले बताए। उपभोक्ताको माग अनुरुप स्थानीय प्रजातिका नेपाली रैथानी कुखुरा पालिएका छन्।

दैनिक ६ सयदेखि ८ सय अण्डा उत्पादन हुने बताउँदै उनले माग अनुसार आपूर्ति नगर्न नसकिएको बताए। सरकारी दररेट अनुरुपै अण्डा, चल्ला र कुखुरा बिक्रि वितरण भइरहेको उनले बताए। डेढ करोड लगानीमा संचालनमा रहेको फर्ममा ५ जना कामदार छन। शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपालका संचालक प्रजापति नेगीले कृषिमा आत्मनिर्भरका लागि फर्म संचालनमा ल्याएको बताए। ‘हामीले वस्तु उत्पादन गरेर स्थानीय स्तरमै खपत गर्नुपर्छ, बाँकी बाह्य निर्यात गर्नुपर्छ, ‘उनले भने, ‘आत्मनिर्भर बन्नका लागि फर्म संचालनमा ल्याएका हौँ ।’

प्रतिक्रिया दिनुस