नेकपा (क्रान्तिकारी माओवादी)ले सुदूरपश्चिमका नौ वटै जिल्लामा भव्यताका साथ जनयुद्ध दिवस मनाएको छ। सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ।
फागुन १ गते २६ औँ जनयुद्ध दिवशका अवसरमा नेकपा (क्रान्तिकारी) माओवादीले दीप प्रज्वलन गर्दे सुदूरपश्चिमका नौ वटै जिल्लामा कोण सभाको आयोजना गरेको हो। नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराले दिवसको महत्त्व बारे चर्चा गर्दै संसारको जुनसुकै परिवर्तन हिंसात्मक आन्दोलनबाट मात्र सम्भव भएको बताए।
कार्यक्रममा प्रदेश इन्चार्ज अनुकुलुक, सह इन्चार्ज लाल किरण, देजमोका सुदूरपश्चिम प्रदेश अध्यक्ष विश्व नेपाली लगायतले मन्तव्य राखेका थिए।  यस्तै कञ्चनपुरमा भएको कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य हरि सुवेधी, जिल्ला सचिव कैलाशले मन्तव्य राखेका थिए। भने दार्चुलामा जिल्ला सचिव प्रेम निरौलाले मन्तव्य राखेका थिए।
वि.सं. २०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र विद्रोह २०६२र६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो। संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो।
जनयुद्ध सुरु भएको १४ दिनपछि गोरखाको पन्द्रुङ, जराङ  (हाल बारपाक सुलिकोट गाउँपालिका(८) मा प्रहरीले चलाएको गोली लागि स्कुले विद्यार्थी दिलबहादुर रम्तेल मारिएका थिए। त्यसपछि राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो। २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो। सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ।
प्रतिक्रिया दिनुस