बाघको आक्रमणबाट मृत्यु भएकी अण्डैयाकी कला धामीको परिवार शोकमा डुबेको छ। बाघको आक्रमणबाट कलाको ज्यान गएपछि गाउँनै शोकमा डुबेको छ। मृतक कलाका तीन छोरी र एक छोरा गरी चार जना नाबालक सन्तान छन्। आमाको मृत्युपछि बालबालिकाको बिचल्ली भएको हो।

नरभक्षी बनिसकेको वयस्क पाटेबाघ गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकाका सामुदायिक वनमा घुमफिर गरिरहेको छ। कैलालीमा मान्छेमाथि आक्रमण गरिरहेको नरभक्षी पाटेबाघको लोकेशन पत्ता लगाउनका लागि चार ठाउँमा क्यामेरा समेत थापिएको छ।

क्षतिपूर्ति दिईने

बाघको आक्रमणबाट ज्यान गुमाएको परिवारलाई क्षतिपूर्ति दिईने भएको छ। गौरीगङ्गा नगरपालिका–५ अण्डैयाकी धामीको परिवारलाई क्षतिपूर्ति वाफत १० लाख रुपैयाँ दिइने भएको हो। वन्यजन्तुले मानवीय क्षति गरेमा नेपाल सरकारले क्षतिपूर्ति वाफत १० लाख रुपैयाँ दिने व्यवस्था रहेकोे डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले बताए।

आफुहरुले पनि उक्त व्यवस्था अनुसार मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने जानकारी दिए। आइतबार स्थानीय पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएको बेला बाघले आक्रमण गरी धामीको ज्यान लिएको थियो।

प्रतिक्रिया दिनुस