फोटो : सामाजिक सञ्जाल।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढ घण्टा पहिल्यै बाटोमा कुरेर बसेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढ घण्टा पहिल्यै निस्किएका थिए। कक्षा ११ मा अध्ययनरत दिनेश र भागरथी बिच दिदी भाइको नातासमेत पर्छ।
दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा। तर माघ २१ गते दिनेश २ कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरू बताउँछन्।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरु भएको थियो। उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। मेडिकल रिपोर्टमा भने उनको बलात्कारपछि हत्या भएको प्रहरीले बताउँदै आएको छ।
तर हत्या स्वीकार गरेका दिनेशले आफूले बलात्कार नगरेको बयान दिएको प्रहरी स्रोत बताउँछ। अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई पक्राउ गरेको हो। उनलाई अभियुक्तको रूपमा सार्वजनिक गर्ने प्रहरी तयारी छ।
पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो,“म बाटोमा पहिल्यै बसेको थिएँ। भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन्। सुरुमा मैले उनको किताब फालेँ। त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिए। उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ।”
प्रतिक्रिया दिनुस