सुदूरपश्चिममा निर्माण गरिएका कोभिड अस्पताल खाली भएका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा दुई जना मात्र बिरामी उपचाररत छन्। अन्य कोभिड अस्पताल भने रित्तिएका छन्। केही महिना अगाडिसम्म कोरोना संक्रमितले भरिएको उक्त कोभिड अस्पतालमा हाल दुई जना मात्र बिरामी उपचाररत रहेका अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। ‘केही दिनअघि अस्पतालमा बिरामी संख्या निल थियो। अहिले दुई जना उपचाररत छन्’, उनले भने।

कोभिडले महामारीको रुप लिएपछि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा ५० शैयाको अस्थायी कोडिभ अस्पताल निर्माण गरिएको थियो। कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएपछि मान्छेमा पहिलेको जस्तो कोरोनाको त्रास छैन। संक्रमण दर घट्दै जाँदा जनजीवन पनि सामान्य हुँदै गएको छ। मान्छेहरु निर्वाध रुपमा आआफ्नो कामकाजमा व्यस्त हुन थालेका छन्।

प्रतिक्रिया दिनुस