फाइल।

पछिल्लो समय कैलालीबाट बीपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने फास्ट ट्रयाक खुलेपछि यहाँका विभिन्न ठाउँहरुमा बस्ती विस्तार हुने क्रम तीव्ररूपमा बढेको छ । फास्ट ट्रयाकको काम शुरुआतीको समयमा सुनसान रहेका यहाँका बस्तीहरु अहिले बाक्लिँदै गएका छन् । बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार विस्तार हुन थालेको छ । बजार विस्तारले घर–जग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको चुरे गाउँपालिका शिवनगरका व्यापारी सुनील विष्टले बताए।

‘पहिले यहाँ व्यापार पनि खासै थिएन, अहिले फास्ट ट्रयाक खुलेपछि जग्गा कारोवारदेखि अन्य व्यापार व्यवसाय पनि राम्रो फस्टाएको छ ।’ –उनले भने,।फास्ट ट्रयाक खुलेपछि कैलालीको, हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको बीपीनगर, तेलपरा, घोडीलास, खसरे, निरौली, सेरा, खहडालगायतका दर्जनौं स्थानमा बजार विस्तार भएका छन् भने केही ठाउँमा बजार बिस्तारको तयारी भइरहेको स्थानीयबासीहरु बताउँछन् । यसअघि यी गाउँमा जग्गाको कारोबार खासै नहुने गरेको गड्सेराका स्थानीयबासी लालबहादुर कामीले बताए।

उनका अनुसार सडक आसपास क्षेत्रमा जग्गाको मूल्य अकासिएको छ । सडक बनेपछि ग्रामीण भेगहरू दिनहुँ व्यापारिक केन्द्रमा परिणत हुँदै जान थालेका छन् । यहाँका गाउँका जग्गाको मूल्य सदरमुकामसरह हुन थालेको छ ।फास्ट ट्रयाक खुलेपछि डोटीका ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेपछि स्थानीयको जीवनस्तरमा परिवर्तन हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताए। आवश्यक पर्ने सामग्री गाउँमै पाइन थालेपछि ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम आउन करिब करिब बन्द भएका छन् ।बीपीनगर तथा शिवनगर क्षेत्रमा विगतमा २ लाखमा पाइने घडेरी दुई वर्षयता तीन गुणाले बढेको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुस