पूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गइरहेको महसुस जनताले गरिरहेको बताएका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको बताए ।

‘नेपाल जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निशेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आमनेपालीले गरिरहेका छन्’, उनले भनेका छन् ।
पूर्वराजा शाहले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमा व्यस्त रहनुपरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘प्रजातन्त्र आधुनिक शासन पद्धितको सर्वोत्तम व्यवस्था हो । विश्वमान्य प्रजातन्त्रको सिद्धान्तअनुरूप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस भन्ने हामी सबैको आकांक्षा हो’, उनले भनेका छन्, ‘प्रजातन्त्र प्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद द्वन्द्व र बहसमै व्यस्त छौँ, ग्रस्त छौँ । प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिँदैन ।’

प्रतिक्रिया दिनुस