जिल्ला प्रहरी कार्यलय डोटीले गत माघ १४ गते अवैध भनिएको सुन र नगद बरामद गरेपनि अझै सार्वजनिक गर्न सकेको छैन। डोटी प्रहरीले स्रोत नखुलेको एक किलो एक सय ग्राम सुनसहित १७ लाख ४७ हजार नगद बरामदसंगै दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ गरेका दुवैलाई छोडिए पनि बरामद सुन ३ साता पुगिसक्दा पनि सार्वजनिक गर्न नसक्नु र न त कानुनी प्रक्रिया नै थाल्नुले स्थानीयले प्रहरीको नियतमाथि शंका गर्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट नगद बोकेर तराई जाने क्रममा कुलपातेबाट ६० वर्षिया काली भुललाई नगदसहित पक्राउ गरेको थियो। प्रहरीले नगदसहित पक्राउ परेकी केआईसिंह गाउँपालिका – ६ भिताणीकी महिलाको घरमा छापा मारेर लुकाएर राखेको एघार सय ग्राम सुन पनि बरामद गरेको थियो। काली र उनका भतिजालाई एक दिन जिप्रका डोटीमा राखेर दोस्रो दिन बयानपश्चात् छोडिएको प्रहरीको भनाइ छ।

उक्त घटनासँग जोडिएका अन्य ब्यक्तिहरुको खोजी भैरहेको र घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले दाबी गरे पनि अहिलेसम्म बरामद सामान सार्वजनिक गर्न नसक्दा नियतमा शंका उब्जिएको हो। २३ दिन बितिसक्दा समेत अवैध सुन प्रकरणमा मुछिएकाहरुलाई सुन लुकाउनेदेखि फरार हुन प्रहरीले नै वातावरण मिलाएको श्रोतको भनाइ छ। जिल्लाको प्रहरी नेतृत्व समेत परिवर्तन भएको छ, तर सुनका विषयमा प्रहरीले त्यती चासो नदेखाएको स्थानीयको आरोप छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले घटनाका विषयमा अनुसन्धान भैरहेको बताए। जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वाटरमार्फत आफूहरुलाई सूचना आएपछि सुन र नगद बरामद गरिएको बताए। बरामद गरिएको सुनको मुचुल्का बनाएर राखेका बताउदै उनले बरामद सुनका विषयमा हेडक्वाटर मार्फत दूतावासमा जानकारी गराएका बताए।

प्रतिक्रिया दिनुस