अघिल्लो वर्ष जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा भारतीय सेनासँग भएको संघर्षमा आफ्ना पाँच अधिकारी र सैनिक मारिएको चीनले पहिलो पटक स्विकार गरेको छ। चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ सेनाको आधिकारिक पत्रिका पिएलए डेलीलाई उद्धृत गर्दै चीनले पहिलो पटक आफ्नो सम्प्रभुता रक्षाका लागि बलिदान दिने सैनिकलाई श्रद्धाञ्जली दिनका लागि उनीहरुको नाम र उनीहरुबारे विस्तृत जानकारी दिएको बताएको छ ।

पीएलए डेलीले शुक्रबार आफ्नो रिपोर्टमा लेखे अनुसार चीनको सेन्ट्रल मिलिट्री कमिशनले काराकोरम पहाडमा चीनका पाँच अधिकारी र सैनिकको पहिचान गरेको छ र उनीहरुलाई पदवीसहित सम्मानित गरिएको छ । रिपोर्टमा पहिलोपटक चिनियाँ सेनाले गलवान संघर्षको विस्तृत विवरण दिएको छ र भारतीय सेनाले त्यहाँ ठूलो संख्यामा सैनिक पठाएको तर उनीहरुको लुकेको अवस्थामा रहेको बताउँदै उनीहरुले चिनियाँ सेनालाई पछि हट्न बाध्य बनाइरहेको पनि यसमा उल्लेख छ । रिपोर्टमा चिनियाँ सैनिकले स्टिलको डण्डी, तिखा लठ्ठी र ढुङ्गाले हमला गरेर आफ्नो देशको सम्प्रभुताको रक्षा गरेको बताइएको छ ।

पीएलए डेलीको रिपोर्टमा लेखिएको छ, ‘अप्रिल २०२० पछि विदेशी सेनाले पछिल्ला सम्झौता उल्लंघन गरे, उनीहरु बाटो र पूल बनाउनका लागि सीमा पार गर्न थाले र सीमामा यथास्थिति परिवर्तन गरेर जानीजानी उक्साए । उनीहरुले कुरा गर्न पठाएका चिनियाँ सैनिकमाथि हमला पनि गरे ।’पत्रिकाका अनुसार चीनका एक सैनिक चेन शियांगराङ्गले आफ्नो डायरीमा लेखेका छन्, ‘दुश्मनको संख्या असाध्यै धेरै थियो तर हामीले घुँडा टेकेनौं । उनीहरुले ढुङ्गाले हमला गर्दासमेत हामीले उनीहरुलाई भगाइदियौं ।’पूर्वी लद्दाखको गलवान घाटीमा अघिल्लो वर्ष १५ जूनमा भएको संघर्षलाई भारत–चीन सीमामा पछिल्लो चार दशकमा सबैभन्दा गम्भीर संघर्ष बताइएको छ । यसमा भारतका २० सैनिकको मृत्यु भएको थियो । भारतले आफ्ना सैनिक हताहत भएको घोषणा त्यतिबेलै गरेको थियो तर चीनले अहिलेसम्म आफ्ना सैनिकमाथि भएको क्षतीको कुनै पनि विवरण दिएको थिएन ।

प्रतिक्रिया दिनुस