लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्ने भएको छ। पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तयारी भएसँगै काम अघि बढ्ने देखिएको हो।
वि.स.२०५२ सालमा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो।  त्यसको २५ वर्षपछि  आज प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर आउन लागेका छन्। उनी बिहान काठमाडौँबाट हुने श्री एयरलाइन्सको पहिलो उडान मार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ। कार्यक्रम स्थल नजिकै हेलिप्याड समेत स्थापना गरिएको छ। प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्याससँगै सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु हुने बताएका छन्। नौँ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टले बताए।   सो औद्योगिक क्षेत्र स्थापनाका लागि यसै वर्ष वातावरणीय  प्रभाव मूल्याङ्कन स्वीकृत भएको थियो। २०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, वेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन सहमति जनाइसकेका थिए। २०७५ साल असोजमा डिभिजन वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजिछेला क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न नसकिने पत्र पेस गरेपछि सो काम अलपत्र परेको थियो।
वन कार्यालयले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको पुर्न उत्पादित क्षेत्र र जङ्गली जनावरको हिँडडुल गर्ने बाटो भएको भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न सकिँदैन भनेर वन कार्यालयले उद्यौगिक क्षेत्र स्थापना गर्न नसकिने जनाएको थियो। तर वन तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालयसँग सबै प्रमाणसहित पेस गर्दा मन्त्रालय स्तरबाटै सकारात्मक कुरा आएपछि ई आइए स्वीकृति भएको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले बताए। अहिले दुई सय ९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य सुरु हुने र पछि एक हजार बिघामा विस्तार हुने दाबी चन्दको छ।
प्रतिक्रिया दिनुस