बझाङको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको छ । दुई सातादेखि चैनपुरमा खानेपानी आएको छैन । सदरमुकाम ल्याइने तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ । चैनपुरमा पाइप विछ्याउने काम भइरहेको तथा पाइपको उचित व्यवस्थापन नहुँदा खानेपानीको समस्या भएको हो । लामो समयदेखि धारामा पानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन् । पानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहोर पानी पिउन बाध्य छन् । धारामा पानी नआउँदा आफूहरूलाई सास्ती भएको होटल व्यवसायी हर्क बोहरा बताउँछन् । ’कपडा धुन त जहिले पनि सेती र बाउलीखोला जान्थ्यौँ । अहिले त पिउने पानी पनि खोला बाटै ल्याउनु परेको छ,’ बोहराले भने, ’होटलमा आएका ग्राहकलाई हातमुख धुन र चर्पीमा प्रयोग गर्नका लागि सबेरै उठेर पानी बोक्नुपर्छ ।’चैनपुरमा डेरा गरी बस्ने तथा विद्यार्थीलाई पानी अभावमा समस्या भएको छ ।

चैनपुरमा हरेक वर्ष खानेपानीको अभाव हुँदै आएको छ । धारामा पानी नआउँदा सेती नदीबाट पानी ल्याउनपर्ने बाध्यता रहेको चैनपुरमा डेरागरी बस्ने सत्यवादी माविकी छात्रा निसा बोहोराले बताइन् । ’अघिल्लो महिनासम्म त दिनमा एक घण्टा जति पानी आउथ्यो,’ उनले भनिन्, ’अहिले त आउनै छाड्यो ।’महिनावारी (रजस्वला) भएको बेला आफूहरूलाई झन् समस्या हुने उनले बताइन् । ’सधै खोलामा गएर चिसो पानीले नुहाउँन सकिँदैन,’ उनले भनिन्, ’यस्तो समयमा स्वास्थ्यको पनि ख्याल गर्नै प¥यो ।’ पानी नआउँदा महिलाहरू बढी मार्कामा परेको उनको भनाइ छ ।सेती र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा स्थानीय बिरामी हुन थालेका छन् ।

फोहोर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य संक्रमणका बिरामीको संख्यामा बढ्दै गएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताए । उनले भने, ’सदरमुकामका मानिसहरूमा पछिल्लो समय मौसम परिवर्तनसँगै स्वच्छ पानी पिउन नपाउँदा झाडापखाला, आँउ, ज्वरो, रुघाखोकी जस्ता बिरामीको संख्या बढदै गएको छ ।’चैनपुर–कुचा सडक निमार्णका क्रममा खानेपानीको पाइप काटिदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । ’सदरमुकाममा दुईवटा मुहानबाट पानी आउछ । दुबै मुहानबाट आउने खानेपानीको लाइन तानिएकै ठाँउमा सडक निर्माण भइरहेका छ,’ उनले भने, ’हामीले कार्यालयबाट तीन जना कर्मचारी खटाएका छौँ । तर काम गर्न समस्या भएको छ ।’खानेपानीको पाइप जडान भइरहेकाले अब केही दिनमा यो समस्या समाधान हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुस