सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्रले कैलालीका किसानलाई मंगलबार कृषि यन्त्र वितरण गरेको छ । कैलारी गाउँपालिका–७ का किसानलाई ५० प्रतिशत अनुदानमा पावरटिलर, पम्पसेट, कृषि मोटर वितरण गरेको हो । बसन्तामा आयोजित एक कार्यक्रमकाबीच भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले किसानलाई कृषि यन्त्र हस्तान्तरण गरे ।
मुख्यमन्त्री एकीकृत कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत ज्ञान केन्द्रले २० जनालाई पावर टिलर, १६ जनालाई पम्पसेट र ३३ जनालाई कृषि मोटर दिएको सो वडाका वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । सो अवसरमा मन्त्री चौधरीले प्रदेश सरकारले कृषिमा आधुनिकीकरणका लागि किसानलाई कृषि यन्त्र र कृषि ऋण उपलब्ध गराउने नीति लिएको बताइन् । उनले बीउका लागि भोग्दै आइरहेको समस्या समाधानका लागि किसान आफैले बीउ उत्पादन गर्न आवश्यक रहेको औंल्याइन् । यसैगरी, कैलारी गाउँपालिकाका अध्यक्ष चौधरीले स्थानीय सरकारलेपनि कृषिलाई प्राथमिकतामा राखेको बताए । सबैभन्दा बढी लगानी कृषिमा गर्दै आएको उल्लेख गर्दै उनले भने–‘सिँचाइ सहज बनाउनका लागि कृषि मोटर पनि स्थानीय सरकारले किसानलाई दिन थालेको छ ।’