सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेको छ। मंगलबार सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य छन्।

८ फागुनमा विप्लवले विज्ञप्ति जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफ्नो पार्टी सरकारसँगको सम्बाद र वार्ताका लागि सकारात्मक रहेको बताएका थिए। विप्लवको विज्ञप्ति आएलगत्तै सरकार विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा जुटेको छ । तर, विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि वार्ताका लागि केही अलमल सिर्जना भएको थियो ।

त्यसअघि सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याउने प्रयास स्वरुप छलफल सुरु गरेको थियो । खानेपानी मन्त्री मणिचन्द्र थापाले २० माघमा नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली सुदर्शनसँग छलफल गरेका थिए । विप्लवसँग वार्ता हुने भएपछि सरकारले लगाएको राजनीतिक प्रतिबन्ध पनि हटाउने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध फुकुवादेखि वार्तामा सहभागी गराउनेसम्मको वातावरण बनाउने प्रयासमा सरकार लागेको छ ।

No description available.

प्रतिक्रिया दिनुस