दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित गणेश विनायक माध्यमिक विद्यालय सिप्टीमा छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ। केही दिनयता दैनिक छात्राहरु बेहोस हुने समस्या देखिएपछि दुई दिनका लागि विद्यालय नै बन्द गरिएको प्रधानाध्यापक कल्यानसिंह धामीले जानकारी दिए। प्रधानाध्यापक धामीका अनुसार विद्यालयमा दैनिक ६–७ जना छात्राहरु बेहोस हुने गरेका छन् । करिब एक हप्तादेखि मावि सिप्टीमा अचानक छात्राहरु रुने, कराउने, काँप्ने र बेहोस हुने समस्या देखिएको उनले बताए। सुरुमा ९÷१० कक्षामा अध्ययनरत छात्राहरुमा यस्तो समस्या देखिएकोमा पछिल्लो सयम आधारभूत कक्षाका छात्राहरुमा पनि त्यस्तो समस्या देखिन थालेको छ। विद्यालयमा अध्ययनरत छात्राहरु बेहोस हुन थालेपछि यही फागुन २० गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक धामीले बताए।
मंगलबार र बुधबार सरोकारवालाहरुसँग छलफल गरेर फागुन २० गतेदेखि विद्यालय खोल्ने तयारी रहेको विद्यालयले जनाएको छ । विद्यालयमा त्यस्तो समस्या देखिएपछि वडाध्यक्ष, प्रहरी प्रशासन, विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय बन्द गरिएको हो । विद्यालयमा छात्राहरु बेहोस हुन थालेपछि शिक्षक, विद्यार्थी तथा अभिभावकहरु समेत त्रसित बनेको स्थानीय प्रकाशसिंह धामीले जानकारी दिए। विद्यार्थी रुने, कराउने, काँप्ने तथा बेहोस हुने जस्ता समस्या बेलाबेला जिल्लाका विभिन्न विद्यालयमा देखिदै आएको छ। नौगाड गाउँपालिकाका गणेश विनायक मावि सिप्टी संगै अन्य विभिन्न वडामा रहेका विद्यालयमा पनि यस्तो समस्या देखिन थालेको उनले बताए। यसअघि दार्चुलाका विभिन्न विद्यालयहरुमा छात्राहरु बेहोस हुन थालेपछि क्षमा पूजासमेत गरिएको छ।