कैलालीको धनगढीमा ठुलो लगानीमा खुलेको फर्निचर उद्योग उद्घाटन नहुँदै जलेर ध्वस्त भएको छ। फागुन महिनाभित्रै भव्य उद्घाटन गर्ने तयारीमा रहेको आलोक मल्टी कन्सर्न शनिवार क्षणभरमै जलेर खरानी भएको हो। उद्योग भएको स्थानमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

तर, प्रहरीले भने अझै पनि आगलागीका कारण खुल्न नसकेको जनाएको छ। एक वर्षको तयारीपछि उद्योग उद्घाटनको तयारी गरिएको थियो । शनिवार उद्योगमा लागेको आगोले उद्योग पूर्णरूपमा नष्ट भएको छ । आगलागीको कारण खुलेको छैन । भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको फर्निचर उद्योगमा शनिवार दिउँसो १२ बजेको आसपास एक्कासि धुवा देखिन थालेको थियो । ‘उद्घाटनको तयारी भइरहेको थियो तर, आगोले सत्यानाश गरिदियो’ उद्योगका व्यवस्थापक अरिफ अहमद राईले भने, ‘करिब २० करोडको क्षति भएको छ ।’ प्रहरीले भने अहिले क्षतिको यकिन विवरण नआइसकेको बताएको छ । ‘आगलागीबाट ठुलो क्षति भएको छ तर कति रुपैयाँको क्षति भयो भन्नेबारे हामीले विवरण लिइरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने ।
आगलागी भएलगत्तै दमकल नआउँदा पनि बढी क्षति भएको स्थानीयले बताएका छन् । समयमा दमकल आइदिएको भए आगो नियन्त्रण हुन सक्ने स्थानीय कृष्ण चौधरीले बताए । उनले भने, ‘आगलागी नियन्त्रणका साधनहरू अब तयारी अवस्थामा राख्न आवश्यक देखिएको छ ।’ धनगढी उपमहानगरपालिकाको दुईवटा दमकल, गोदावरीको एउटा कञ्चनपुर पुर्नवारको एउटा दमकल आगो नियन्त्रणमा खटिएका थिए । घोडाघोडी नगरपालिकाबाट दमकल धनगढी नपुग्दै आगो नियन्त्रणमा आइसकेको थियो ।

उक्त आगलागी भएको स्थानबाट नेपाल आयल निगमको डिपो करिब १०० मिटरको दुरीमा रहेको छ । आलय निगमसम्म आगो पुग्न नपाएको हुँदा ठुलो दुर्घटनाबाट रोकिएको स्थानीयहरु बताउँछन् । तीन स्थानीय तहको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले आगलागीबाट करोडौँको क्षति भएको हुँदा राहतका लागि पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुस