नेकपा ओली समूहको संसदीय दलको बैठकले ११५ भन्दा बढी सांसद उपस्थित भएको दाबी गरेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य उपस्थित भएको राष्ट्रिय सभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए । प्रधानमन्त्री ओलीले भोलि यो संख्या बढ्ने बताएको भट्टराईले बताए । कानुनी हिसाबले नेकपा विभाजन हुन कठिन रहेको भन्दै उनले पार्टी एक हुने बताएका छन् । उत्साहको साथ आफूहरू अगाडि बढेको भट्टराईले बताए ।

ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिएको थियो । तर, उनीहरू सहभागी भएनन् । यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बसेको थियो । बैठकमा १११ ९बहुमत० सांसद उपस्थित भएका थिए । सो समूहले चारजना सांसद बाहिर रहेको बताएका छन् । बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा भंग गर्ने निर्णय असंवैधानिक भन्दै सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको छ ।

प्रतिक्रिया दिनुस