महाकाली कोरिडोरअन्तर्गत पर्ने दार्चुला तिङ्कर सडकखण्डको लास्कु र नजाङगाड खोलामा मोटरबेल पुल २०७४ सालमा नै निर्माण सकिनुपर्ने हो। तर अहिलेसम्म पनि यी पुलको निर्माण सम्पन्न हुन सकेको छैन । निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग ५ फागुन २०७२ मा निर्माण सम्झौता गरी ४ जेठ २०७४ मा सक्ने लक्ष्य थियो ।

सो पुल कूल दुई करोड ४६ लाखको लागतमा निर्माण गर्ने सम्झौता भएको हो । लास्कु खोला पुलमा राजेन्द्र देवसिंह मालिकार्जुन जेभीसँग १५ चैत २०७२मा सम्झौता गरी १४ असार २०७४ मा निर्माण सम्पन्न हुनुपर्ने थियो । सो पुल कूल तीन करोड ५८ लाखको लागतमा निर्माण गर्नुपर्ने हो । दुवै पुलको काम समयमै सकिएन् ।सो सडकखण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा सडकखण्ड वर्षात्मा सडक अवरुद्ध हुँदै आएको छ । पुल निर्माणमा भएको ढिलाइले सर्वसाधारणले समेत सास्ती भोग्नुप¥यो । पुल निर्माण नहुने तर पटकपटक म्याद थपेको थप्यै गर्दा स्थानीयवासीले आवतजावतमै समस्या भोग्नुपरेको बताएका छन् । एक दशक अघिबाट निर्माण सुरु भएको दार्चुला तिङ्कर सडकखण्डमा हालसम्म झण्डै ४३ किलोमिटर सडकको ट्र्याक खुलेको छ ।

अहिले सो सडकखण्ड ब्यास गाउँपालिकाको केन्द्र सुनसेराभन्दा तीन किलोमिटर अघिसम्म मात्रै पुगेको छ ।सडक निर्माणसँगै पुल निर्माणमा सरकारी पक्ष र निर्माण व्यवसायीकै लापरवाहीका कारण समयमै निर्माण नसकिएको व्यवसायी चक्रबहादुर बम बताउछन् । ’समयमै ध्यान दिएको भए अहिलेसम्म पुल बनिसक्थ्यो’, उनले भने, ’सबै पक्षबाट लापरवाही भएकै कारण ढिलो गरी पुल निर्माण भइरहेको छ ।’दुवै ठाउँमा पुल निर्माण नहुँदा स्थानीयवासीलाई आवतजावतमा निकै समस्या हुँदै आएको छ । हिउँदको चिसो महिनामा नदी भएर वारपार गर्न साह्रै अप्ठ्यारो हुन्छ । अहिले दुवै पुलको निर्माण कार्यले केही गति लिएको छ । निर्माण सामग्री समयमै आपूर्ति नहुनु तथा पुल निर्माणको लागि जिम्मेवारी दिएको व्यक्तिले समयमै काम गर्न नसक्नु पुल निर्माणको ढिलाइ भएको बताइएको छ ।

प्रतिक्रिया दिनुस